दिपक खत्री, चौतारा ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ ठोकर्पामा निर्माण गरिने सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यास समारोहमा आज सम्बोधन गर्दै यहाँ निर्माण गरिने अध्ययन केन्द्रलाई आवश्यक परेमा अन्तराष्ट्रिय सहयोगको लागि पहल गरि सो कामलाई पूर्णता दिइने बताउनुभयो ।
सामुदायिक वनको उद्गम स्थलको रुपमा रहेको सिन्धुपाल्चोकको ठोकर्पाको वन विश्वकै पहिलो अवधारणाको रूपमा रहेको छ । समाजसेवी एवं अभियन्ता स्वर्गीय नीलप्रसाद भण्डारीको सक्रियतामा आतेजाते १६ कोष टाढाबाट गाउँलेहरुले डोकोमा बिरुवा बोकेर २०३० सालमा नाङ्गो पाखामा वृक्षरोपण गरी समुदायबाटै संरक्षणको सुरुवात भएको थियो ।
नेपाल सरकारले २०७३ साउन २५ गतेदेखि प्रत्येक बर्ष सामुदायिक वन राष्ट्रिय महोत्सवको रुपमा मनाउने निर्णय गरी विशेष समयमा स्वर्गीय भण्डारी र तत्कालीन चौतारा वन डिभिजनका अधिकृत डा. तेज बहादुर सिंह महतलाई अभियन्ताको रुपमा सम्मान गरेको थियो ।
उक्त केन्द्रको लागि रु ३९ करोड ७० लाख बजेट लगानी हुने गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । संरचना निर्माणको लागि प्रत्येक बर्ष बजेट बिनियोजन हुँदै आएको र चालु आर्थिक बर्षमा पनि रु एक करोड ८८ लाख ७७ हजार पाँच सय निकासा भएको छ ।
दुई हेक्टर जमिनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास, कर्मचारी आवासगृह, तालिम भवन, भण्डार गृह तथा पार्किङ स्थल सहित १५ वटा भवन निर्माण गरिनेछ उक्त केन्द्रमा अन्तर्राष्ट्रियस्तरका अध्ययनकर्ता, विश्वविद्यालय तथा महाविद्यालयका विद्यार्थी, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुनेछ ।