१५ शैयाको अस्पतालमा परिणत हुँदै नवलपुर प्राथमिक स्वास्थ्य चौकी

नवलपुर । 

इन्द्रावती गाँउपालिका नवलपुरस्थित नवलपुर स्वास्थ्य चौकी स्तरोन्नति पश्चात १५ शैयाको प्राथमिक अस्पतालमा परिणत गर्न लागिएको छ । अस्पतालका लागि निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेकाले आउँदो वैशाखमा उद्घाटन गरि अस्पतालबाट हुने सेवा प्रवाह गरिन लागिएको हो ।


स्वास्थ्य चौकी अस्पतालमा परिण हुने भएसँगै स्थानीयवासीमा खुशीयाली छाएको छ । अस्पतालमा बनेपछि सेवासुविधा थप हुने भएकै कारण गाउँमै थप उपचार पाउने भएपछि गाउँवासीममा उत्साह बढेको हो ।

सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार नवलपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको छ । गाउँपालिकाका अनुसार अस्पतालमा परिणत गरिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 भवन निर्माणसमेत तीब्र गतिमा काम भइरहेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । गाउँपालिकाको वडा नं ४ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार, प्रसुती सेवा मात्र हुने भएकाले स्थानीयवासी जटिल उपचारका लागि धुलिखेल र काठमाण्डौका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको अध्यक्ष तामाङले बताउनुभयो । सदरमुकामबाट २० किलोमिटरको दूरीमा रहेको स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी अध्यक्ष तामाङले बताए । अस्पताल बनेपछि स्वास्थ्यका अधिकांश समस्या यहींबाट सेवाप्रवाह हुने अध्यक्ष तामाङको दावी छ ।

गाउँपालिका भित्रका १२ वडाका स्थानीयबासीहरु स्वास्थ्य सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम जाने गरेका छन् । गाउँपालिकावासीहरुमा चेतनाको क्रमिक बिकाससंगै स्वास्थ्य, सरसफाइ तथा समुदायको स्वस्थकर बानी व्यबहार अबलम्बन गदै गएको प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो ।

यहाँ दैनिक ३० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । स्वास्थ्यचौकीबाट ल्याबसहितको प्राथमिक तहको उपचार भइरहेको छ । वडामा रहेको हेल्थपोष्टहरुमा पर्याप्त स्वास्थ्यकर्मी उपलब्ध नहँुदा समस्या झेल्नु परेको छ । ग्रामीणस्तरमा उपचारात्मक स्वास्थ्य स्थिति कमजोर रहेकोले अस्पाताल चाडै सञ्चालनमा ल्याउन तत्पर रहेको अधिकृत पौडेलको भनाई छ । 

हाल गाँउपालिका भित्रका झण्डै ३० हजार नागरिक यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ शैयाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, आबश्यक चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् ।

यो बाहेक अहिले गाउँपालिकाभर पाँचवटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइँदै छ । स्वास्थ्य इकाई मंसिर अन्तिमसाताबाट सञ्चालनमा ल्याइने छ । भोटसिपा र सिपापोखरेमा निर्माण हुने स्वास्थ्य चौकीको टेण्डर प्रक्रिया भइसकेको गाउँपालिकाले जनाएको छ ।

, ,