भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको राष्ट्रवाद नांगियोः बस्नेत

चौतारा ।

सिन्धु काँग्रेसले संसद विघटनविरुद्ध सिन्धुपाल्चोकका चार ठाउँमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि आन्दोलनमा होमिएको काँग्रेसले शनिबार सिन्धुपाल्चोकका चार ठाउँमा प्रदर्शन गर्न लागेको हो ।


काङग्रेसले  प्रतिनिधिसभा १ को प्रदेससभा क को चाकु र ख को खाडिचौरमा प्रदर्शनको कार्यक्रम गरेको थियो ।

त्यस्तै प्रतिनिधिसभा २ को प्रदेससभा क ज्यामिरेमाने र ख मेलम्चीमा प्रदर्शन गरिएको काँग्रेस पार्टी सचिव बिल बहादुर तामाङले जानकारी दिनुभएको छ । 

प्रतिनिधिसभा १ को प्रदेससभा क र ख दुवैको प्रदर्शनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सम्बोधन गर्नुभएको छ । यता प्रतिनिधिसभा २ क को ज्यामिरेमानेको कार्यक्रमलाई पार्टी सभापति विकास लामा र रोल्पा पार्टी सभापति तथा पूर्वराज्यमन्त्री अमर सिंह पुनले सम्बोधन गर्नुभएको थियो भने प्रदेससभा ख मेलम्चीको कार्यक्रमलाई भने केन्द्रीय सदस्य विष्णुविक्रम थापाले सम्बोधन गर्नुभएको छ ।

प्रतिनिधिसभा १ को प्रदेससभामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नागिंएको बताउनुभएको छ । भारतको इशारामा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद नागिंएको उहाँले बताउनुभएको हो । चुच्चे नक्सा सार्वजनिक गरेर चर्चा कमाएका प्रधानमन्त्री ओलीले भारतका एकजना आएर भेट्नासाथ नक्सा नै परिवर्तन गरेको उहाँको आरोप छ ।

उहाँले भने, ‘सस्तो लोकप्रियताका लागि नक्सा ल्याए , विद्यालयका पुस्तकमा छपाए, भारतबाट कोही भेट्न आए ओलीले तुरुन्तै आदेश दिए ती चुच्चे नक्सा भएका किताब वितरण नगर्नु ।’ बस्नेतले संवैधानिक सर्वोच्चताको काँग्रेसले सधै सम्मान गर्ने बताउनुभयो । प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनमा होमिएको काँग्रेसले निर्वाचन या प्रतिनिधिसभा पुनस्थापना जे भएपनि अदालतको आदेशलाई सम्मान गर्छ उहाँले भन्नुभयो ।

जिल्लाका कम्युनिष्ट पार्टीहरु खोलाका बालुवा तष्करमा लागेको उनको आरोप छ । जनप्रतिनिधिहरु जनताको काममा भन्दा पनि तष्करमा लागेको र तयसैका कारण अख्तियार धाउँदै ठिक्क भएको उहाँले बताउनुभयो  । कम्युनिष्टहरु गुट र ग्रुपमा लागेकोले उनीहरु अब पतनको बाटोमा लागेको उनको भनाइ छ । बस्नेतले भन्नुभयो, संघीयता, धर्मनिरपेक्षता, संविधान कार्यान्वयन अब काँगेसको काँधमा आएकाले अब जनताले काँग्रेसलाई चुन्नेछन् ।

अन्य स्थानमा भएको कार्यक्रममा समेत नेताहरुले कम्युनिष्ट पार्टी जनताको भन्दा पनि आफ्नो प्रगतिको लागि लागेको आरोप लगाएका छन् । विश्वबाट नै सकिएको कम्युनिष्ट नेपालमा फुरफुर गरेर बसेकोहरु अब निमिट्यान्ह हुने काँग्रेस नेताहरुको  विश्वास रहेको छ । 

शनिबार भएको सो बिरोध कार्यक्रमा हजारौं कार्यकर्ताहरुको उपस्थिति रहेको सचिव तामाङले जानकारी दिनुभएको छ । आज देशभर काँग्रेसले प्रदेससभाहरुमा प्रदर्शन गर्नेछ ।


, ,