काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक यूनियन(यूनिट्राभ) को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै यूनिट्राभले मंगलवार ज्ञापनपत्र बुझाएको हो । पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गर्दै विभिन्न १७ बुँदामार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभएको छ । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आइटी टीम्स बन्द गर्नुपर्ने लगायतका माग श्रमिकहरुको छ । यस्तै यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर रेस्क्युमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।
यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभइ समय, अवस्था र स्थानलाई मध्यनजर गर्दै आपतकालिन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकोप्टरबाट रेस्क्यु गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।