राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दीमा तिने दिने कार्यक्रम शुरु



 

  ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । 


दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम र तेस्रो दिन चैत १८ गते समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।


  तीन सम्म सञ्चालन हुने कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सोमबार उद्घाटन गर्नु भएको छ ।

  उद्घाटन पछि बोल्दै जिसीले नेपालमा सहकारीको औपचारिक शुभारम्भ भएको दिन चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको र दिवसका सन्दर्भमा सबै सहकारी संघ संस्थाहरुले सकारात्मक सन्देश दिने गरी गतिविधि गर्नु पर्नेमा जोड दिनुभयो । सहकारीहरुको योगदानको समिक्षा, सुधार गर्नु पर्ने पक्षका विषयमा छलफल तथा सहकारीमार्फत समाज रुपान्तरणमा गर्न सकिने योगदानका बारे अन्तरक्रिया लगायत रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी दिवस मनाउन उहाँले सबै सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नुभयो ।

  सहकारीहरुले सदस्यको आर्थिक सामाजिक रुपान्तरण हुने गरी कार्यक्रम गर्नका लागि संस्थालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी तरिकाले सञ्चालन गर्नु पर्नेमा जोड दिदै जिसीले प्रविधिको प्रयोगमार्फत सहकारीलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

  कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (दिपक विखर्ची) को अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

  ऋण व्यवस्थापन तालिमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान कोषाध्यक्ष नारायण आचार्यले गर्नु भएको छ ।

सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिममा नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहजीकरण गर्ने संघले जनाएको छ ।

  राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा मुल समारोह आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 




, , , , , ,