भलिबलमा भोताङ र हाजिरी जवाफमा बरुवा पहिलो



देवराज सुवेदी२०७७ फागुन २९ गते १८:१९ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद शाखा र शिक्षा शाखाद्वारा आयोजित वडा स्तरीय पुरुष शिक्षक भलिबल तथा महिला शिक्षक हाजिरी जवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत भलिबलमा वडा नम्बर ४ थाङ्पालकोटलाई ३–२ को सेटमा पराजित गर्दै वडा नम्बर ३ भोताङ पहिलो भएको छ । त्यस्तै वडा नम्बर ८ लाँगर्चेलाई पराजित गर्दै वडा नम्बर ७ भोटेनाम्लाङ तेस्रो भएको छ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २०, १५ र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेलकुद विभाग प्रमुख टासी शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै महिला शिक्षक हाजिरी जवाफतर्फ वडा नम्बर २ बरुवा पहिलो, वडा नम्बर ८ लाँगार्चे दोस्रो र वडा नम्बर ६ थाङपालधापले तेस्रो स्थान प्राप्त गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ८, ५ र ३ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेलले जानकारी दिनुभयो ।

विजयी टिमहरूलाई गाउँपालिका अध्यक्ष टासी लामा र शिक्षा विभागका प्रमुख ङिमछिरिङ तामाङले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिता फागुन २७ गतेबाट थाङ्पालधाप माविमा सञ्चालन भएको थियो ।

,