मेलम्ची नगरको सार्वजनिक सुनुवाइ

 सिन्धुपाल्चो जिल्लाको मेलम्ची नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि हालसम्म गरेका कार्यक्रमहरुका वारेमा सार्वजानिक सुनुवाई गरिएको हो । मेलम्चीमा बुधबार सम्पन्न भएको  नगरपालिका तथा मातहतका कार्यालयहरुबाट भएगरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मेलम्ची नगरपालिकाले आयोजना गरेको हो ।   रेडियो मेलम्चीको सहजीकरणमा भएको उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले आर्थिक अभावका कारण भनेजस्तो विकास निर्माणको काम नभएको तर आँटे जति काम भएको बताउनुभयो । आवश्यक र सक्षम कर्मचारीको अभावका कारण नगरमा भएका कतिपय समस्याको समाधान गर्न कठिन भएको समेत उहाँले सो अवसरमा जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख भगवती नेपालले कोभिडका कारण काम गर्न नसकेको र हाल त्यसबेला सम्पन्न गर्नुपर्ने काम दायित्वको रुपमा देखा परेकाले विकास निर्माण नयाँ योजनाको थालनी गर्न असहज भइरहेको बताउनुभयो । 


मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले नगरको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । रेडियो मेलम्चीको तर्फबाट सागर खड्काले नागरिकपत्र प्रतिवेदन र बहिर्गमन अभिमत प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यसैगरी कार्यक्रममा नागरिकहरु विकासनिर्माण तथा सेवाका विषयमा नगर प्रतिनिधिहरु र नगरपालिकामा कार्यरत कर्मचारीहरुसँग प्रत्यक्ष प्रश्न गरेका थिए । उठेका सवालमा नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरु जवाफ दिएका थिए । खानेपानी, सिँचाइ, वन, बजार व्यवस्थापन, शान्ति सुरक्षा, गुणस्तरीय शिक्षा आदि विषय उठेका थिए ।