मेलम्ची नगरपालिकाद्वारा अनुदानमा मल्टिक्रप थ्रेसर वितरण

 देवराज सुवेदी,मेलम्ची ।

मेलम्ची नगरपालिका कृषि विकास शाखाद्वारा बुधवार ४० प्रतिशत सम्म अनुदानमा मल्टिक्रप थ्रेसर मेशिन वितरण गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितीमा बुधवार १९ थान थ्रेसर मेशिनहरु वितरण भएको हो । वितरित थ्रेसर मेशिन विशेष गरी गहुँ, धान र कोदो कुट्न प्रयोग गर्न सकिने कृषि शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । ५८ हजार पर्ने थ्रेसर मेशिनलाई नगरपालिकाले ४० प्रतिशत अनुदानमा वितरण गर्दा ३४ हजार ८ सय पर्न गएको छ । यस अघि ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएकोमा यस पटक भने १० प्रतिशत कम अनुदानमा थ्रेसर वितरण गरिएको हो । यसैगरी बर्षेनी अनुदान प्रतिशत कम  गर्दै लैजाने र अनुदान घटाएर सामाग्रीको संख्या बढाउँदै लैजाने नगरको लक्ष्य रहेको पनि आचार्यले बताउनुभयो ।


मेशिन वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले यसको ठीक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।शतप्रतिशत अनुदानमा नगरले वितरण गर्दा त्यसको सहि सदुपयोग तथा मर्मत संभार नभएको पाईएकोले कृषक स्वयंलाई पनि समावेश गरी अनुदान रकममा केही कटौति गर्नुपरेको पनि प्रमुख अर्यालले प्रष्ट्याउनुभयो । वितरण गरिएको मेशिन मल्टिक्रप भएकाले यसले निश्चित समयमा केही व्यक्तिलाई रोजगरी सिर्जना गर्ने पनि अर्यालले बताउनुभयो । समयको पनि बचत हुने र बचत भएको समयमा थप उत्पादन बढोस् भन्ने उदेश्यका साथ यस प्रकारको उपकरणहरु वितरण गरिएकाले यसको प्रभावकारितामा ध्यान दिन प्रमुख अर्यालले किसानहरुलाई आग्रह गर्नुभयो । उक्त मल्टिक्राप थ्रेसर मेशिन सहकारी, समूह र व्यक्तिगत फर्म मार्फत किसानहरुलाई वितरण गरिएको हो ।


, , ,