भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक

 रामचन्द्र बस्नेत,

भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । भारतको यो निर्णयले नेपालमा पनि असर पर्ने भएको छ ।

नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ । 

भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । ‘खोप खरिद गरिसकेकाले नपठाउनुको विकल्प हुँदैन, कति समयपछि पठाउँछ भन्ने मात्र हो ’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले भन्नुभयो । 

भारतीय खोप उत्पादक कम्पनीले खोपको पैसा लिइसकेकाले उसले खोप पठाउनै पर्ने उहाँले बताउनुभयो । यसबीचमा कम्पनीसँग भएको छलफलमा नेपाललाई प्राथमिकतामा राखेर खोप दिने प्रतिबद्धता आएकाले ढिलो गरी भए पनि खोप आउने उहाँले बताउनुभयो ।

भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ । 


नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो । यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो ।

यसपछि भारतसँग सरकारले २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोजमात्रै भित्रिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो । 

दोस्रो डोजको खोपबारे पनि अन्योल

कोरोनाविरुद्धको पहिलो डोज लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भनिए पनि अन्योल भएको छ । भारतसँगै कोभ्याक्स सुविधामार्फत आउने बाँकी खोप कहिलेसम्म आउँछ भन्ने निश्चित भइनसकेकाले यसबारे स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ । 

विश्व स्वास्थ्य संगठनले पहिलो मात्राले ७० प्रतिशत काम गर्ने भएकाले दोस्रो मात्रा लगाए पनि असुरक्षित नहुने बताएपछि दोस्रो मात्रा दिने या नदिने भन्नेबारे मन्त्रालयले छलफल थालेको हो । नेपालमा अहिले सात लाख डोज खोप मौज्दातमा छ ।

मौज्दातमा रहेको यही खोप पहिलो डोज लगाएकाहरुलाई दिने भनिएको थियो । तर अब बाँकी रहेको यो खोप पहिले लगाएकालाई दिने कि नयाँलाई दिने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।  ‘दोस्रो मात्रा नपाए पनि असुरक्षित भइन्छ भन्ने होइन, विश्व स्वास्थ्य संगठनले पनि एक मात्रा मात्रै लगाए पनि ७० प्रतिशत सुरक्षित रहने बताइसकेको छ’ स्रोतले भन्यो(‘दोस्रो मात्रा दिने की नदिने भन्नेबारे छलफलमा छौं । केही दिनमा निर्णय हुनेछ ।’

नेपालमा अहिलेसम्म १६ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो भने दोस्रो अभियानमा ६५ वर्षभन्दा माथिकालाई खोप दिइएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षमाथिकालाई खोप दिइएको छ ।


,