‘बेनीको बजार‘’ गीतका सर्जक टिका बहादुर श्रेष्ठको निधन

रामचन्द्र बस्नेत,

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय,अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल लोकप्रिय गीत ‘बेनीको बजार,जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल‘’ का सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आउनु भएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

‘बेनीको बजार जता मायाँ उतै छ नजर‘’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि स्रोतामाझ लोकप्रिय भएको थियो ।

श्रेष्ठकी श्रीमती मना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि उत्तिकै मन पराइन्छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ ।लामो समयसम्म मृगौला सम्वन्धि समस्याले ग्रस्त गायक श्रेष्ठले निरन्तर रुपमा डायलासिस गरिरहनु भएको थियो ।मृगौला सम्वन्धि समस्या झेलिरहदा समेत श्रेष्ठ सांगीतिक क्षेत्रसंग नजिक हुनुहुन्थ्यो ।तबला,हार्मोनियम लगाएतका थुप्रै बाजा बजाउन जान्नुभएका श्रेष्ठ पछिल्लो एक दशक यता भने गुमनाम हुनु हुन्थ्यो ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर‘’ बोलको गीत गाउनु भएको थियो ।उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारहरुलाई उछिनेर श्रेष्ठ दम्पत्तिको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताउनु हुन्छ ।त्यस पछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

उहाँले निधनले लोक संगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको लोक संगीतका श्रष्टाहरुको भनाइ छ ।

 

,