मेलम्चीमा महिला भलिबल सुरु



देवराज सुवेदी

सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता सोमबार मेलम्चीमा सुरु भएको छ । हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो खेलका लागि मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग गरेको हो ।


जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराउँदै हेलम्बु विजयी भएको छ । इन्द्रावती गाउँपालिकालाई हराउँदै चौतारा साँगाचोकगढी नगरपालिका विजयी भएको छ भने मेलम्ची नगरपालिकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराएको छ । आज भएको चौथो प्रतिस्पर्धात्मक खेलमा हेलम्बु गाउँपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकालाई हराएको छ । सुपर लिगका आधारमा खेलाइएको खेलमा सबै टिम एकअर्कासँग भिड्ने अवसर पाउने मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिनुभएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले खेलको उद्घाटन गर्दै महिलाहरुलाई हरक्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला भनेपछि हरेक कुरामा हेप्ने चलनको अन्त्य गरी सम्मानजनक जीवन बनाउनका लागि महिलाहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उपप्रमुख भगवती नेपालले उत्साहित हुँदै खेलमा सहभागी हुन खेलाडीहरुलाई शुभकामना दिनुभयो ।खेलको समापन बुधबार बिहान गरिने हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभएको छ । 


, , ,