नेकपा एमाले सिन्धुपाल्चोकद्वारा १ महिने अभियान सार्वजनिक


सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि ब्युतिएको नेकपा एमालेले यतिबेला देशब्यापी रुपमा पार्टी संगठन सुदृढिकरण अभियान सञ्चालन गरिरहेको छ ।


यसै क्रममा बिहीबार सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेशका सह इनचार्ज शेर बहादुर तामाङको प्रमुख आतिथ्यता र प्रदेश कमिटीका संयोजक आनन्द प्रसाद पोख्रेलको विशेष आतिथ्यतामा सम्मन्न बैठकले जिल्लामा १ महिने पार्टी सुदृढिकरण तथा सुद्धिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो  । 

जिल्ला पार्टी कमिटीका अध्यक्ष बालकृष्ण देउजाका अनुसार पार्टी विरोधी गतिविधीमा लाग्ने र पार्टीलाई विभाजोन्मुख गराउँन खोज्ने प्रवृत्तिप्रति बैठकमा गम्भीर समीक्षा गरिएको छ । खासगरी सर्वोच्च अदालतको फैसला पछिपनि माओवादी नेतृत्वसंग हिमचिम जारी राख्नु र समानान्तर कमिटी निर्माण मार्फत एमालेलाई विभाजन गरी प्रचण्डसामु लगेर बुझाउँन खोज्ने प्रवृत्ति देखिएकोले उक्त कुराप्रति बैठकमा उपस्थित सबैको चिन्ता रहेको  अध्यक्ष देउजाले बताउँनु भयो ।


सुदृढ र एकताबद्ध नेकपा एमाले आजको आवश्यकता रहेको बताउँदै देउजाले जिल्लामा १ दशकदेखि पार्टी कमिटी कब्जा गरेर बस्ने तर काममा सिन्को नभाच्ने प्रवृत्ति विरुद्धमा आम कार्यकर्ताहरुलाई गोलबद्ध गर्दै अघि बढ्ने नीति लिएको उल्लेख गर्नुभयो । बैठकलाई सम्बोधन गर्दै एमाले नेता तथा सांसद शेर बहादुर तामाङले पार्टी संकटमा रहेको बेला नेतृत्वको विरोधमा उत्रिनेहरु पार्टीको सच्चा कार्यकर्ता हुन नसक्ने बताउँनु भयो  । मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको एजेण्डा केपी ओली बाहेक कोही कसैले बोक्न नसक्ने बताउँदै नेता तामाङले  आफ्नै पार्टीबाट सरकारलाई असफल पार्न खोज्ने प्रवृत्तिकका कारण पार्टी एकता भंग हुन पुगेको बताउँनु भयो  । बहुमतको दम्भमा आफ्नैपार्टीका अध्यक्ष तथा प्रधानमन्त्री माथि अपमान गर्ने र मुलुकको सार्वभौमसत्ता विदेशी सामु लगेर सुम्पिन खोज्ने प्रचण्ड माधवको गलत चिन्तनले नेकपा विखण्डित हुन पुगेको बताउँदै नेता तामाङले भने नेतृत्वका विरुद्ध विष वमन नगरेको भए सर्वोच्च अदालतको फैसलापछि पनि कुनै नयाँ नाममा पार्टी एकता जिवित राख्न सकिने सम्भावना हुनसक्ने थियो भन्नु भयो । 

बैठकलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश कमिटीका संयोजक आनन्द प्रसाद पोख्रेलले पार्टी विरोधी गतिविधीमा संलग्नहरुले विधी, विधान र पद्धतिको कुरा गर्नु नै हास्यास्पद रहेको टिप्पणी गर्नु भयो । साथै उहाँले केपी ओलीको राष्ट्रवादी अडान र निर्णय क्षमताका कारण संसदले एकमतले चुच्चे नक्सा पास गरेपछि ओली विरुद्ध षड्यन्त्र हुन थालेको उल्लेख गर्नुभयो । पूर्वमन्त्री समेत रहेका नेता पोखरेलले एमाले नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा उल्लेख्य काम गरेको बताउँदै वर्तमान सरकारको जनप्रिय कामबाट अत्तालिएर विदेशी प्रतिक्रियावादी शक्तिको आडमा सरकार ढाल्ने प्रयास भएको वताउँनुभयो  । उक्त प्रयासलाई हामीले विफल पार्नै पर्छ, नेता पोखरेलले भने आज हामीसंग सूर्य चिन्ह छ, पार्टीको आधिकारिकता छ, जनताको साथ र समर्थन छ । हिजो अप्ठोरो बेलामा त केपी ओलीको पक्षमा उभिने हामी कार्यकर्ताहरु अब गाउँगाउँमा गएर जनतालाई वास्तविकता बताउँदै पार्टी संगठन पुर्नगठनका साथ अघि बढ्नुपर्ने बताउँनुभयो ।बैठकले ०७८ बैशाख महिना भरमा पार्टीका मातहत कमिटी र जनसंगठनको भेला, बैठक, प्रशिक्षण, गठन र पुर्नगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला कमिटीका सदस्य तथा इन्द्रावती गाउँपालिका कमिटीका संयोजक शशिनाथ आचार्यले जानकारी दिनुभयो  । मुक्ति समाजको केन्द्रीय भेलामा जिल्लाबाट उल्लेख्य प्रतिनिधित्व गराउँने, बैशाख पहिलो हप्ताभित्र पार्टीको पालिका कमिटीलाई पूर्णता दिई बैठक राख्ने, वडा कमिटीको बैठक राख्ने, जनप्रतिनिधीहरुको भेला राख्ने लगायतका निर्णय लिएको आचार्यले बताउँनु भयो । बैठकले गत ०७७ चैत २४ गते इन्द्रावती गाउँपालिकाको सिपापोखरेमा भएको घटना प्रति खेद प्रस्ताव परित गरेको छ । एमाले जिल्ला कमिटी सदस्य तथा इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष विष्णुमणि आचार्य तथा सोही समितिका कर्मचारी अशोक कोइरालामाथि प्रदेश सरकारका पूर्व मन्त्री तथा बहालवाला प्रदेश सांसद युवराज दुलालले हातपात र अभद्र ब्यवहार गरेको भन्दै पार्टीले उक्त कार्यमा संलग्न दुलाल र उहाँको समुहका सदस्यमाथि कानुनी कार्वाहीको माग गरेको छ ।


घटनामा आचार्यको गोडा र कोइरालाको आँखामा चोट समेत लागेको थियो । जसको काँधमा चढेर चुनाव जित्यो उसैमाथि भौतिक आक्रमणमा उत्रिने ती कस्ता जन प्रतिनिधी भन्दै बैठकका सहभागीले प्रश्न समेत गरेका थिए । दुलालले सिपापोखरेमा सहकारीको साधारणसभा र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पुगेका बेला सामान्य विषयलाई लिएर एमाले जिल्ला कमिटीका सदस्य विष्णमणि आचार्यको कठालो समातेको कारण दुलालको उक्त कार्यप्रति यतिबेला चौतर्फी आलोचना भईरहेको भन्दै नेकपा एमालेले बिज्ञेप्ती प्रकाशित गरि कार्बाहीको माग समेत गरेको छ । एमाले जिल्ला कार्यालयमा आयोजित बैठकको सुरुमा सिन्धुपाल्चोक जिल्लाबाट पत्रकार महासंघको गत ०७७ चैत २५ गते सम्पन्न निर्वाचनमा विजयी वामपन्थी पत्रकारहरको प्यानललाई बधाई तथा शुभकामना दिइएको थियो । उक्त बधाई कार्यक्रममा नव निर्वाचित अध्यक्ष जीवन श्रेष्ठले आफुहरु जनताका आवाज बुलंद गर्दै अधिबढ्ने उल्लेख गर्नू भयो । 


, , , , , , , ,