हत्याको आरोपी पक्राउ


मुकेश बस्नेत

वीरगंज, ८ जेठ ।

बारामा अवैध सम्बन्धका कारण दुई नाबालकको घाँटी रेटिएर हत्या भएको घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेकोे छ । 


जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार प्रहरीले हत्याको आरोपमा कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर निवासी २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको आइतवार जानकारी गराएको छ ।

प्रहरीको अनुसन्धान अनुसार अन्सारी र मृतक दुई बालककी आमा बीचको अनैतिक सम्बन्धका कारण अन्सारीले दुर्ई दाजुभाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो  । 

मृतक दुई बालकका बुबा अब्दुल गफार अन्सारी विगत तीन वर्षदेखि वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकाले मृतकहरूका आमा र अन्सारीबीच घनिष्ठता र हिमचिम बढेको बालकबाट खुलासा हुने डरले अन्सारीले घाटी रेटेर बालकको हत्या गरेको बारा प्रहरीले जनाएको छ । 

बारा, कलैया उपमहानगरपालिका वडा नं. ७ घर भएका अब्दुल गफार अन्सारी विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । गफारको दुर्ई नाबालक छोरा ९ वर्षीय अमान अन्सारी र ९ वर्षीय उसमान अन्सारीको हत्या फरमुल्लाह अन्सारीले नजीकैको मदर्साको निर्माणाधीन भवनमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । 

फरमुल्लाहले बालककी आमालाई सहयोग गर्न घरमा आइरहने गर्थे । यसै क्रममा दुवै जना बीच घनिष्ठता र हिमचिम बढयो । फरमुल्लाहले उनलाई भाउजु भन्ने गरेका थिए । छोराहरूलाई घरमै छाडेर छोरीहरूलाई मात्र लिएर भारततिर गएर बसौं भनेर दबाब दिने गर्थे तर आमाले छोराहरूलाई छोड्न नमानेपछि अन्सारीले छोराहरू बाधक रहेको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ । 

छोराहरू छोड्न दबाब दिएपछि बालककी आमा पनि निज अन्सारीबाट टाढा हुदै गइन् जुन कुरा अन्सारीलाई मन परेन । बालकको हत्या गर्ने मनसायले जेठ ३ गते साँझ बालकहरूलाई लोभलालच पारी कलैया वडा नं. ११ स्थित मदर्शा सलफिया कन्जुलमको निर्माणाधीन भवनको कोठामा बोलाएर त्यही नाबालकको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । 

हत्या गरेर जेठ ४ गते बिहान ४ बजेर ४१ मिनेटमा कलैया बजारको चोकमा सिसिटिभीमा देखिएपछि र जेठ ३ गतेबाट हराएका दुर्ई बालकको शव जेठ ४ गते बिहान फेला परेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा फरमुल्लाहको कोठाबाट चक्कु र बेल्ट सबुत बरामद गरेको प्रवक्ता मिश्रले जानकारी दिनु भयो।

,