अक्सिजन प्लान्ट निर्माणकार्य सुरु गर्दै सुनकोशी गाउँपालिका

 कुमार बस्नेत (अधिराज)

सिन्धुपाल्चोक । अक्सिजनमा आत्मनिर्भर बनाउने र कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।


सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । सुनकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिनु भयो। देशभरका स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिकाले यसरी आफ्नै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको यो पहिलो भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर-६ को थुम्पाखरमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको सुनकोसि ६ का वडा अध्यक्ष राम कुमार थापाले जानकारी दिनुभयो । गाउँपालिकाले एनसिसी बैंक, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, क्षमादेवी व्यावसायिक समूह लगायत अन्य सहयोगी व्यक्ति र संघ संस्थासँग पनि अक्सिजन प्लान्टको लागि सहकार्य गर्न लागेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अक्सिजन प्लान्ट निर्माणका लागि बैंक लगायत अन्य संघ संस्थाहरूसँग समन्वय गरिदिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिनुभयो। एनसिसी बैंक सञ्चालक समितिमा पुर्ब मन्त्रि बस्नेत पनि सदस्य हुनुहुन्छ । अहिलेको यो महामारीमा सहज गराउन र भविष्यमा हुने संकटमा समेत अक्सिजन प्लाण्ट स्थापना भएपछि एउटा पूर्वाधारको रुपमा यसले जिल्लाबासी र छिमेकी जिल्लाहरुलाई समेत सहयोग पुग्ने अध्यक्ष जिसीले बताउनुभयो । सुनकोशी गाउँपालिकाको समन्वयमा स्थापना हुने अक्सिजन प्लान्टबाट गाउँपालिकाको स्वास्थ्य संस्थामा मात्रै नभएर जिल्लाभर वितरण हुने र अन्य जिल्लामा समेत अक्सिजन प्रदान गर्न सक्ने गरेर अक्सिजन प्लान्टको लागि बजेटको स्रोत सुनिश्चित गरिएको गाउँपालिकाले जानकारी दिएको हो।

, , , , , , , ,