कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण

सम्झना पौडेल 

कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महारीमा  पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको  बताउनु भयो । पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उहाँले कोभिडले समस्यामा परेका पत्रकारको  निःशुल्क उपचार हुनु पर्ने, स्वास्थ्य सामाग्रीमा पहुँच  पुग्नु पर्ने बताउनु भयो ।   मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा जोड दिनु भयो । उहाँले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउनु भयो । उहाँले आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यस तर्फ सबै सचेत हुनु पर्ने, प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनु भयो । नेपाल  पत्रकार  महासंघका  अध्यक्ष  तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भएको थियो ।  कार्यक्रमका संयोजक एवं सदस्य शरद प्रसाद अधिकारीले देश संघीयतामा गए सँगै काउन्सिलका काम कारबाही  विकेन्द्रिकरण भएको  बताउनु भयो । उहाँले सातवटै प्रदेशमा काउन्सिलको प्रतिनिधि भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनु भयो । सदस्य अधिकारीले काउन्सिलको प्रदेशस्तरीय कार्यालय स्थापनाको लागि छलफल भएकाले यसलाई मूर्तरूप दिन पहल हुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल सहित कार्यक्रममा लुम्बिनि प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षको सहभागिता रहेको उक्त कार्यक्रममा कोरोनाको कारण विज्ञापन  पाउनु मुश्किल भएको,  बिलहरूको भुक्तानी समयमा  नभएको, पत्रिका प्रकाशनमा समस्या आएको लगायतका विषय उठाएका थिए । 


, , , , , , , , , , , , , , , , , , ,