सभामुखको आश्वसन मात्रै काम भएन

  

दिपक खत्री, सिन्धुपाल्चोक

२०७८ साल बैशाखमा सभामुख अग्नी सापकोटा सहितको टोलि बासखर्क पुगेर बर्खा नलाग्दै लिदिका विस्थापितलाई जस्ताकै भएपनि टहरो बनाईदिने भनेपछि पंचलाल दोङ आशावादि हुुनुहुन्थ्यो । मध्य बर्खा सुरु भयो,झमझम पानी दर्कन्छ दोङ भन्न्हुन्छ, “ त्रिपाल भित्र पानी छिरेर सामान भिज्नेदेखि सर्प,भ्यागुता र जुँकाले दुख दिएर हैरान भयौ । ”


पंचलाल दोङ जस्तै बर्खाअघि नै अस्थायी टहरो बनाउने आश्वासन पाएका पहिरोपीडित लिदीबासी निराश भएका छन् । एक सय ७२ मध्ये ४० घरपरिवार मात्रै जुगल गाउँपालिका वडा नम्बर १ को बाँसखर्कमा बसिरहेका छन् । चिनियाँ टहरमा बसेका आधा लिदीबासी अस्थायी टहरो नबनेकोले जोखिम मोलेर पुनः गाउँ फर्किएका छन् । स्थानिय साङ लामा दोङलाई ठुलो परीवार एउटै टेण्टमा बस्नुपर्दा द्येरै असहजता ब्यहोर्नुपर्छ । महिनाबारी हुदा,कपडा फेर्नुपर्दा र सब परीवार एउटा टेण्टमा कोचिएर सुत्नुपर्दा १० महिना सास्तीले कटेको उहाँ बताउनुहुन्छ । ठुलो परीवार एउटै टहरामा अटाउनुपर्दा महिला तथा किशोरीले असहजता ब्यहोर्दै आएका छन् ।

अहिले पनि दिनहुँ वर्षा भईरहेको छ । अस्थायी टहरो बनाउने सबै कागजपत्र तयार भएपनि निर्माण कायले गति लिएको छैन । एक वर्षदेखि दाताले दिएको राहतबाट भोक टारेका विस्थापितलाई आर्थिक समस्या पर्न थालेको छ । पीडितका लागि दाताले दिएको बजेट पालिकाको खातामा उसै बसेको छ । तर माथिल्लो निकायले चाँडो काम नगर्दा पीडितले दुःख पाएको  जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको  भनाइ रहेको छ ।


नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेपछि बासखर्कको पाखामा बल्ल डोजर लगाएर पाखा सम्याउन सुरु भएको छ । लामिछानेले जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएका जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामानले काम सुरु गर्न लागेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेले बताउनुभयो । विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले गत वर्षको पहिरोले विस्थापित भएका बाह्रबिसे, बासखर्क र भोटेकोसीमा एक सय वटा टहरा बनाउने लक्ष्य अनुसार काम सुरु गर्ने जनाएको छ । तर मध्य बर्खा लाग्दा पनि काम सुरु भएको छैन । सिन्धुपाल्चोकमा गत वर्षको पहिरोले विस्थापित भएकाहरुलाई स्थायी बासस्थानको लागि हालसम्म सरकारले कुनै ठोस निर्णय दिन सकेको छैन । वर्षदिनको बीचमा सरकारबाट स्थायी आवास बनाउन रकम विनियोजन भएको छ । तर, बाढी पहिरोपीडितले यो बर्खा पनि पानीचुहिने टहरामै बिताईरहेका छन् । सभामुखको आश्वसन मात्रै भयो काम भएन पिडीत हरुको भनाइ रहेको छ । 


, , , ,