बलेफी –नौबिसे सडक खण्डको काम छ प्रतिशत मात्र सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको बलेफी जलबिरे तेम्बाथान सडक अन्तर्गत हाल स्तरोन्नति भैरहेको बलेफी नौबिसे खण्डको सरोकारवालाले मंगलबार संयुक्त अवलोकन गरेका छन । निर्माण व्यवासायीको कामप्रति स्थानीयवासीको गुनासो आएपछि राजनीतिक दलका नेता, सडक डिभिजन कार्यालयका प्रमुख, गाउँपालिकाका र सम्बन्धित सरोकारवालाले निर्माणाधीन सडकमा प्रयोगमा ल्याइएको निर्माण सामग्री तथा सडक फराकिलो बनाउन गरिएको कटान लगायतको निरीक्षण गरेका थिए  । साथै बलेफी गाउँपालिकाको कार्यालयमा वर्षायाममा सवारी आवतजावत सञ्चालन गर्ने, निर्माणकार्यका गुणस्तरीयतामा कमि हुन नदिने  र  जिम्मेवारी अनुसार सबैले काम गर्ने विषयमा छलफल भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधब सापकोटा , बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतो, सभामुखका स्वकीय सचिव गोबिन्द पाठक, निर्माण यवसायिका प्रतिनिधि, वडाध्यक्ष एवं सञ्चारकर्मीको उपस्थिति रहेको थियो । छलफलले जारी सडक स्तरोन्नतिको काम सन्तोषजनक नदेखिएकाले दुई साता भित्र सम्बन्धित निर्माण वयवसायिलाई उपस्थित गराइ छ्लफल गर्ने निर्णय गरेको छ । छलफलका क्रममा नेता सापकोटाले समयमै काम सम्पन्न गर्न र गुणस्तरमा सम्झौता नगर्न  सुझाव दिनु भयो । गाउँपालिका अध्यक्ष क्षेत्रीले पालिकाले आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । सडक डिभिजन प्रमुख महतोले सम्झौता अनुसार हालसम्म २५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ६ प्रतिशमात्र काम भएको पाइएको जानकारी दिनु भयो । उहाँले कटानमा स्लोप नमिलेको, निर्माण सामग्रीमा सुधार आवश्यक रहेको एवम डिजाइन अनुसार  ग्याबिन वायरको प्रयोग नदेखिएको बताउनु भयो । निर्माण पक्षले अवलोकन र छलफलका क्रममा आएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ ।

, , , , , , , , , , , , , , , , , , ,